१. हिन्दु धर्म-संस्कृतिको पुरानो, मौलिक र शास्त्रीय नाम वैदिक संस्कृति हो । सृष्टिको आरम्भदेखि अन्त्यसम्म नै यो संस्कृति चलिरहेछ चलिरहनेछ र आगामी सृष्टिमा पनि यसै गरि चल्ने भएकाले यसको अर्को नाम सनातन-संस्कृति पनि हो । यसको परिचय, उद्देश्य, महत्त्व र आवश्यकताका वारेमा प्रथम अध्यायमा चर्चा गरिएको छ ।
२. भक्ति-दर्शनमा सर्वप्राचीन र प्रामाणिक मानिएको देवर्षि नारद ( इ. पू. ५००० वर्ष ) मुनिको भक्ति सिद्धान्त जसले जीवात्मा र परमात्मा दुई अलग अलग वस्तु हुन् र जीवात्मा भक्त हो भने परमात्मा भगवान् हो भन्ने द्वैत दर्शन प्रतिपादन गर्दछ । संस्कृत-सूत्रहरु र त्यसको जस्ताको तस्तै सरल र संक्षिप्त व्याख्यान दोस्रो अध्यायमा गरिएको छ ।
३. आजको संसारमा सर्वाधिक रुचाइएको हाम्रो विद्या योग विद्या नै हो । योग अर्थात जोडनु । जीवात्मालाई परमात्मासंग जोड्नु नै योग हो । शरीर मन बुद्धि र आत्माको तहबाट गरिने योग पूर्ण योग भनिन्छ । योगको परिचय, महत्त्व र आवश्यकताको वर्णन तेस्रो अध्यायमा गरिएको छ ।
४. योग-दर्शनका प्रथम आचार्य महर्षि पतञ्जलि ( इ. पू. २७०० वर्ष ) को १९६ योग-सूत्र र तिनको सरल, संक्षिप्त, प्रामाणिक एवं वैज्ञानिक व्याख्या चौथो अध्यायमा चर्चा गरिएको छ । योग-शास्त्र रचना गरेर चित्तको दोष, व्याकरण महाभाष्य रचना गरेर वाणीको दोष, आयुर्वेद रचना गरेर शरीरको दोष मेटाई मानव जातीको महान् उपकार गरेका महर्षि पतञ्जलि अदभूत मनीषी मानिन्छन्
पातञ्जल योग-सूत्रमा चार अध्याय छन् । समाधि पाद नामक पहिलो अध्यायमा योगको परिभाषा, चित्तको स्थिति, समाधिको परिचय आदिको वर्णन छ भने दोस्रो साधन पाद नामक अध्यायमा सिकारुले सिक्दा जान्न र गर्न पर्ने आधारभूत योग-साधनाको प्रक्रिया र त्यसबाट उत्पन्न हुने प्रभावको चर्चा छ । तेस्रो विभूति पाद नामक अध्यायमा समाधि सिद्ध हुँदै जाँदा उत्पन्न हुने अलौकिक शक्ति एवं चमत्कारहरुको वर्णन छ भने चौथो कैवल्य पाद नामक अध्यायमा संप्रज्ञात समाधि सिद्ध भएपछि जीवात्माका सबै उपाधि मेटिएर शुद्ध बुद्ध केवल चित् रूप आत्माले आफ्नो निज सत्ता प्राप्त गर्छ । ब्रह्म-भाव प्राप्त गर्छ, आत्माको उच्चतम अवस्थामा पुग्छ भन्ने वर्णन गरिएको छ । यही अवस्था प्राप्त गर्न हाम्रो आत्मा सतत प्रयत्नशील छ । सघन योग समाधिबाट यो सजिलै उपलव्ध हुन्छ ।
५. वेद संसारको सर्वप्राचीन ग्रन्थ हो । ब्राह्मण, आरण्यक र उपनिषद गरि वेद ३ खण्डमा भएको मानिन्छ । उपनिषद बाहेक अरु खण्डलाई कर्मकाण्ड, उपासनाकाण्ड भनिन्छ भने उपनिषदलाई ज्ञानकाण्ड भनिन्छ, यसैलाई वेदान्त-दर्शन पनि भनिन्छ । आत्मा परमात्माका विषयमा संसारमा सबैभन्दा पहिले वैज्ञानिक र प्रामाणिक सिद्धान्त प्रस्तुत गर्ने शास्त्र यिनै हुन् ।
वेद अपौरुषेय मानिन्छन् । कुनै व्यक्तिले लेखेका पुस्तक होइनन् । महर्षि वेद-व्यास ( इ. पू. ५५०० ) ले त श्रुति परम्परामा सीमित वेदलाई लिपिबद्ध गरेका मात्र हुन् । उसो भए वेद कसरी बने त ? भन्ने स्वाभाविक प्रश्न उठ्छ । यो प्रश्नको उत्तर के हो भने- जसरी हामीले हिंजोको दिन बितायौं ठिक त्यसै गरि आजको दिन पनि बिताउँछौ । प्रायः सबैदिन उस्तै उस्तै हुन् । यसैगरी सृष्टिको वारेमा पनि बुझ्नुपर्छ । अघिल्लो सृष्टि जस्तो थियो यो सृष्टि पनि उस्तै छ । हिंजोको कुरा हामीले आज सम्झिए झैँ अघिल्लो सृष्टिको कुरा आजको यो सृष्टिमा जानिंदैन । सृष्टि-कर्ता परमात्माले मनुष्यमाथि दया गरि अघिल्लो सृष्टिको मनुष्यलाई चाहिने आधारभूत ज्ञान वेद-ध्वनि मार्फत् यस सृष्टिको मानवलाई प्रदान गरेको मानिन्छ । वेद त्यही सञ्जीवनी विद्या हो जसले हरेक सृष्टिका मानवलाई जिउन सिकाउँछ । वेदभित्र पनि उपनिषद शीर्ष विद्या हो । जीवात्मा परमात्माको ज्ञान नभएसम्म मोक्ष या मुक्ति हुनसक्दैन । मानव जन्म भएका बेलामा पनि मुक्ति भएन भने हाम्रो महाविनाश हुन्छ । हाम्रो महाविनाश नहोस भनेर पनि हामीले उपनिषद पढ्न र बुझ्न परम आवश्यक छ ।
आजका हाम्रा अधिकांश बच्चाहरु राम्ररी नेपाली लेख्न बोल्न पनि जान्दैनन् । संस्कृत भाषाको कुरा गर्ने हो भने त अधिकांश अभिभावकलाई नि आउँदैन । अझ त्यसमा पनि वैदिक संस्कृत भाषा अझ जटिल मानिने भएकाले यहाँ रस मर्म नबिग्रने गरि भावानुवादमात्र राखिएको छ । पाठकलाई भारी हुने भएकाले संस्कृत पाठ नराखी त्यसको हु-ब-हु नेपाली भावानुवाद दिइएको छ । यसबाट सजिलै उपनिषदको रस-पान गर्न सकिने छ ।
६. उपनिषदहरु शताधिक छन् । ती मध्ये ईशावास्य नामक यो उपनिषद प्रथम मानिन्छ । यो संसारमा जताततै ईश्वरको वास छ, उसले दिएको धन, जीवनमा सन्तोष गर, अर्काको रिस नगर, ईश्वरको खुशीका लागि कर्म गर्नुपर्छ त्यसो गरेमा कर्मबन्धनले बाँधिदैन र मुक्त हुन सकिन्छ । नाशवान् वस्तुको उपासनाले सुख होला तर शान्ति हुँदैन आदि उपदेशात्मक भावबाट शुरु हुने यो उपनिषद अनेक राम्रा ज्ञानोपदेश दिँदै अग्निदेवसंग जीवात्माको प्रार्थना गरेर पूर्ण हुन्छ । ईश्वरीय चेतना, हाम्रो स्थिति र कर्तव्यबोध गराउनमा स-शक्त मानिने यो उपनिषद साँच्चै मननीय र मार्मिक छ ।
७. केन उपनिषदलाई केबाट ? भन्ने अनुवाद गरि यसको व्याख्यान गरिएको छ । हाम्रा आँखा नाक कान आदि इन्द्रियहरुले केबाट शक्ति पाएर तत् तत् काम गरेका छन् ? मन बुद्धिले केबाट शक्ति पाएर काम गरिरहेका छन् ? यसप्रकारको प्रश्न गर्दै सबैलाई तत्तत कर्म-शक्ति दिने उनै परमेश्वर हुन् भन्ने स्पष्ट पारिएको छ । इन्द्र आदि देवताहरुले आ-आफ्नो शक्तिमाथि घमण्ड गरेको देखेर भगवानले यक्षको रूप लिएर सबैको परीक्षा लिनुभो । परीक्षामा फेल भएपछि देवताहरुले आफू शक्तिमान नभएको र उनै परमात्माको शक्तिले काम गरेको सत्य तथ्य बुझे । त्यसैले यहाँ देखिने बुझिने हरेक वस्तु उनै परमेश्वरको शक्तिबाट सञ्चालित छ भन्ने स्पष्ट गरिएको छ ।
८. कठ उपनिषदलाई कठ ज्ञान भनिएको हो । यो पिता उद्दालक र पुत्र नचिकेताको सम्वादबाट शुरु हुन्छ । रिसिएका पिताले नचिकेतालाई यमराजलाई दिने कुरा गरे पछि नचिकेता आफै यमलोक जान्छन् । यमराज त्यहाँ नभएको बेला पर्छ । उनी न आउञ्जेल ढोकामै भोकै प्यासै ३ दिनसम्म कुरिरहन्छन् । आएपछि यमराजले ब्राह्मणदेव के माग्न आए भनेर तीनवटा वरदान माग भन्दछन् । यमराजसंग नचिकेताले आफूले अरु केही चाहेको छैन भन्दै वरदान स्वरूप अमर हुने विद्या माग्छन् । संसारको हरेक वस्तु दिन सक्छु तर ब्रह्म विद्या दिन सक्दिन भन्ने यमराजको कथन सहितको अत्यन्त रोचक र मार्मिक कथा छ । अन्त्यमा अध्यात्म-विद्याको महत्त्व प्रकाश पारिएको छ ।
९. प्रश्नोपनिषदलाई यहाँ प्रश्नोत्तर भनिएको छ । ब्रह्म-विद्या सिक्न भार्गव कात्यायन आश्वलायन आदि सात जिज्ञासु ऋषिहरु ब्रह्म-वेत्ता महर्षि पिप्पलादको आश्रममा पुग्छन् । पिप्पलादले भने अनुसारको अनुशासनमा बसेर उनीहरूले विद्या आर्जन गर्छन् । सात ऋषिहरुले गरेका सातवटा प्रश्न र तिनको सात उत्तरवाट बुझाइएको ब्रह्म-विद्याको अदभूत वर्णन यस उपनिषदको मुख्य विशेषता हो । यो उपनिषद पढेपछि पाठकले सजिलै ब्रह्म-विद्या बुझन थाल्दछ ।
१०. मुण्डकोपनिषदलाई यहाँ मस्तक भनिएको छ । गुरु परम्परा अनुसार नारायणका शिष्य ब्रह्माजी, ब्रह्माजीका शिष्य अथर्वा उनका शिष्य भरद्वाज, भरद्वाजका शिष्य अंगिरा, अंगिराका शिष्य शौनकले अंगिरासंग सोधे- के जान्यो भने सबै जानिन्छ ? अंगिराले परा र अपरा विद्याको चर्चा गर्दै भन्छन् – ऋग्वेद-सामवेद-यजुर्वेद-अथर्ववेद यी चार वेदहरु, शिक्षा-कल्प-निरुक्त-छन्द-ज्योतिष-व्याकरण यी छवटा वेदाङ्गहरु सबै अपरा विद्या हुन् । परा विद्याको ज्ञानले ब्रह्म-बोध भएपछि सबै कुराको बोध हुन्छ भन्नेबाट शुरु भएको यो उपनिषदमा परा-विद्याको विशद चर्चा गरिएको छ ।
११. यसमा वर्णित विद्या, मण्डुक नामक महर्षिले देखेको जानेकोले यो उपनिषदको नाम माण्डुक्योपनिषद भए पनि मण्डुक महर्षिको नामबाट यस अध्यायको नामकरण गरिएको छ । ॐ यो शब्द ब्रह्म हो । यसबाट नै संसारको सृष्टि स्थिति र प्रलय हुन्छ । अ उ म यी तीनै अक्षरका भावार्थलाई जान्नसक्ने ब्रह्म-ज्ञानी बन्दछ भन्ने कुरा यसमा विस्तारपूर्वक व्याख्यान गरिएको छ ।
१२. इतर नामक आचार्यले देखे जानेका सत्यसंग्रह ऐतरेय उपनिषदका नामले प्रसिद्ध छ । त्यही ऐतरेयोपनिषदको नाम यहाँ इतराचार्य भनिएको हो । यसमा ईश्वरले शुरुमा के कसरी सृष्टि गरे भन्ने विषयको चर्चा छ । मानव शरीरको निर्माण कसरी गर्नुभो भन्ने अत्यन्त सुन्दर जानकारी छ । जीव पुरुषको शरीरमा वीर्य बनेर प्रकट हुन्छ, पुरुषले स्त्रीको योनीमा वीर्य सेचन गर्नु नै प्रथम जन्म हो । प्रसवसम्म स्त्रीले वीर्यलाई गर्भमा धारण गर्छन् । जन्मेपछि पिताले नै शिक्षा दीक्षाले अझ सबल बनाउँछ । यो रहस्य जान्ने वामदेव ऋषि ब्रह्म ज्ञान प्राप्त गरि अमर भएको आख्यान वर्णन गरिएको छ ।
१३. तित्रे चराको रूपमा अभिशप्त ऋषिले व्याख्यान गरेकाले तैत्तिरीय भनिने यो उपनिषदलाई यहाँ तित्रे चरो नामकरण गरिएको छ । यसमा शिक्षावली अन्तर्गत मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव इत्यादि धेरै राम्रा शिक्षाको वर्णन छ भने ब्रह्मानन्द वल्ली अन्तर्गत परमात्माबाट आकाश, आकाशबाट वायु, वायुबाट अग्नि, अग्निबाट पानी, पानीबाट पृथ्वी, पृथ्वीबाट औषधि, औषधिबाट अन्न, अन्नबाट मानव आदि शरीरहरु सृष्टिको प्रक्रिया, पञ्चमहाभूत, शरीर, इन्द्रिय, मन, बुद्धि, अन्नमय कोश आदिको वर्णन छ भने भृगु वल्ली अन्तर्गत वरुण देवका पुत्र भृगु ऋषिले पितासंग ब्रह्म-विद्या विषयक जिज्ञासा राखेपछि वरुणदेवले तपस्या गर्न भन्छन् । तपस्या गर्दै जाँदा उनले सुस्त सुस्त धेरै कुरा बुझ्दछन् । अन्त्यमा अन्न प्राण हो र यसको यथोचित सम्मान र सदुपयोग गर्नुपर्छ भनिएको छ ।
१४. श्वेताश्वतर उपनिषदलाई यहाँ सेता अश्व नाम दिइएको छ । यसको शुरुमा ॐ मन्त्र उच्चारण गरेर वेद उपनिषद पढ्न शुरु गर्नुपर्छ भनिएको छ । थुप्रै ऋषि महर्षिहरु एकठाउमा बसेर सत्संग गर्दै यो संसारको सृष्टि कसरी भयो ? भनेर छलफल गर्दैछन् । जगत रचयिता ईश्वरलाई जानेर मात्र मुक्ति प्राप्त हुन्छ । शरीरलाई तल्लो अरणी ॐ मन्त्रलाई माथिल्लो अरणी बनाई ध्यान गरेमा शरीरभित्रका भगवानको दर्शन हुन्छ भनिएको छ । रथ तान्ने घोडा जति दुष्ट भए पनि बुद्धिमान सारथिले गन्तव्यमा पुर्याए झैँ ॐ मन्त्रको ध्यान गर्ने साधकले आहार विहार व्यवहार श्वासप्रश्वास आदि सबैमा संयमित भएर ध्यान साधना गर्छ र परमात्मालाई अनुभव गर्दछ । अनेक तरहले ईश्वरको प्राप्त्युपाय र पाए पछिको विशिष्ट अवस्था आदिको सुन्दरतम वर्णन गरिएको छ ।
१५. माथि वर्णन गरिएका भक्ति-सूत्रमा, योग-सूत्रमा र उपनिषदका करीब सबै खण्डमा साधनाकै खाँचो औंल्याइयो । साधना विना भक्ति पनि हुँदैन, साधना विना योग पनि हुँदैन, साधना विना ब्रह्म-बोध पनि हुँदैन । आखिर त्यो साधना के हो र कसरी गर्ने त ? भन्ने प्रश्नको उत्तर, सरल र संक्षिप्तरूपमा यस पन्ध्रौं अध्यायमा वर्णन गरिएको छ । प्रायः अधिकांशलाई योग-साधना सम्वन्धी चेतनामा रूचि पाइएकाले पाठकको रूचि अनुरूप योग साधना विधि बताइएको छ ।