आधुनिक जीवन शैलीका विशेषता प्रायः खानु पिउनु रमाउनु मोज मज्जा गर्नु जुवा आदि खेल्नु इत्यादि हुने गर्छ । यसका लागि पर्याप्त कमाउन र काम गर्नुपर्छ । प्रसन्न हुनु आँफैमा राम्रो कुरा हो तर धेरै खाने पिउने कुरा चैं विचारणीय विषय हो । जुनसुकै पनि वस्तुको उपयोग निश्चित सीमासम्म हितकर हुन्छ । सीमा नाघ्यो भने भयानक बन्छ । खानेकुराले सीमा नाघेमा, पिउने कुराले सीमा नाघेमा, यौन-क्रिडाले सीमा नाघेमा, यी र यस्तै धेरै विषयले सीमा नाघेमा सुन्दर जीवन बर्बाद हुँदै जान्छ । यो अमूल्य जीवनलाई वर्वादीबाट बचाउनुपर्छ ।
योग-साधनाका केही अभ्यासले हामीलाई यसप्रकारको बर्बादीबाट जोगाउन सक्छ । नगरेर यो अनौठो लागेको हुनसक्छ । गर्दै जाँदा यो अत्यन्तै सजिलै गर्न सकिने रहेछ भन्ने बुझिन्छ । बिहान दिउसो बेलुका राती जतिबेला जहाँ गरे पनि हुन्छ । योग आँफैमा सञ्जीवनी हो । यसले तपाई हामीभित्र जादू गर्छ । आमूल परिवर्तन गर्छ । हामीले जे चाहन्छौं त्यही हुनथाल्छ । योग-साधनाले हाम्रो जीवनमा अविश्वसनीय परिवर्तन ल्याउछ । यस्तो चमत्कार गर्नसक्ने योगका वारेमा हजुर हामी धेरैलाई राम्ररी थाहा छैन । के हो योग ? कसरी गर्ने ? किन गर्ने ? आदि विषयमा विचार गरौं ।
के हात खुट्टा र शरीरको व्यायाम नै योग हो ? यदि हो भने जिम सेण्टर गए भइहाल्यो नि । त्यहाँ अनेक उपकरणको सहायताले सम्पूर्ण अंग अंगको व्यायाम गरिन्छ । हैन, योग भनेको शारीरिक व्यायाममात्रै हैन, बरु योगभित्र शारीरिक व्यायाम पनि पर्छ भन्ने बुझ्नुपर्छ । योग आँफैमा परिपूर्ण हुन्छ । शरीरको व्यायाम, मनको व्यायाम, प्राणको व्यायाम, पोजिटिभ पावरको व्यायाम, आदि धेरै खालको व्यायाम हुन्छ योगभित्र । व्यायाम बाहेक पनि जीवनसंग संबंधित महत्वपूर्ण विषयहरु जो हजुर हामीलाई आजसम्म थाहा छैन त्यसका विषयमा पनि योगले दिव्य-ज्ञान दिन्छ ।
यही दिव्य ज्ञानको उज्यालोमा जीवनमा परिवर्तन सम्भव हुनेगर्छ । अत्याधुनिक जीवन शैलीमा हामी हाम्रो रूटिन चेञ्ज नगरिकन योगलाई चाख्न खोज्छौं । आँफुलाई अलिकति पनि असजिलो नबनाइकन योग साधना सिक्न चाहन्छौं । त्यस्तो सम्भव त हुन्छ तर चाखेर मात्रै पेट भरिन्न । पेट नभरिकन तृप्ति हुदैन । सुस्त सुस्त योगमय वातावरण बनाएर जीवनमा ठुलै परिवर्तन गर्न चाहनुन्छ भने अब तयार हुनुस । एकैछिन शास्त्रीय कुरा सुन्नुस ।
सर्वप्रथम योग साधना प्रति पोजिटिभ हुनुस । कसरी गरूँ ? कहाँबाट शुरु गरूँ ? कुन बेलामा गरूँ ? भनेर विचार गर्नुस । अरुले के भन्लान भन्ने सोंच्दै नसोच्नुस । हजुर हामीलाई नियमित योग साधनाको अभ्यास गर्न गाह्रो छैन । यो त हाम्रा बाउ बाजे पुर्खाले जीवनभर गरेको, पुर्ख्यौली सम्पत्ति विरासतमा पाएको हाम्रो घरभित्रको मौलिक विद्या हो । हामीले जब चाहे यसको उपयोग गर्न र फाइदा लिन सक्छौं । शुभारम्भका लागि कुनै एउटा शुभ दिन या शुभ समय छनौट गर्नुस । १५ मिनेट देखि १ घण्टासम्म योग अभ्यास गर्ने मानसिक तयारी गर्नुस् । एकान्तमा गर्नुस् या जानकारसंग गर्नु राम्रो हुनेछ । खाना खाएको ३ घण्टा पछिको अवस्था उत्तम हुन्छ भन्ने बुझ्नुपर्छ । हेल्दी,रमाइलो वातावरणमा इजी पहिरनमा तयार हुनुस । सजिलो नरम गुन्द्री या म्याटमा पूर्व फर्केर ढाड कम्मर गर्दन शिर सिधा गरि बस्नुस् । आँखा बन्द गर्नुस् । लामो लामो सास लिने छोड्ने गर्नुस् । अब तपाइँलाई मनपर्ने कुनै एक देवताको ध्यान गर्नुस् । हृदयमा छर्लङ्ग हुने गरि देवताको ध्यान गरेर प्रार्थना गर्नुस् ।
हे देव ! मलाई शक्ति देउ, योग साधनाद्वारा जीवनको उच्चतम शक्ति पाउन सकूँ, आशिष देउ । मेरो साधनामा आइपर्ने हरेक विघ्न बाधाहरु हटाएर मेरो योग साधनालाई सिद्ध गरिदेउ भनेर सच्चा मनले प्रार्थना गरौं ।
प्रार्थनापछि दुबै हात रगडेर तातो बनाएर चेहरामा दल्दै चेहराको मालिसबाट योग अभ्यास आरम्भ गरौं । यो तातो हातको मालिसले चेहरा चम्किलो हेल्दी र आकर्षक बन्दै जान्छ । अब क्रमशः गर्दन छाती कम्मर नितम्ब साप्रा खुट्टा अनि हातहरुको मालिस गरौं । ३ राउण्ड शिर देखि पाउसम्म मालिस गरेपछि उठ्नुस् । शरीर तताउनलाई आफ्नै ठाउँमा दौडिनुस् । ५/७ मिनट दौडिएपछि शरीर तात्छ । warm up भैसकेपछि सूर्य नमस्कार आसन गरौं
सूर्य नमस्कार आसनका १२ अवस्था हुन्छन् । सबै प्रकारका आरोग्य र शक्ति दिने देवता सूर्य नै हुन् । एक एक आसन बाट सूर्यलाई नमस्कार गर्नाले हामीमा डबल शक्ति आउँछ । एक व्यायामबाट अर्को सूर्यदेवसंगको प्रार्थनाबाट ।
१. पूर्व फर्केर नमस्कार मुद्रामा सीधा उभिनुस् ।
२. दुबै पञ्जा पूर्बतिर देखाउँदै हात जोडिएकै अवस्थामा दुबै हात पूरा माथि लैजानुस् र पछाडी झुक्ने कोशिश गरौं ।
३. दुबै हात जोडेकै अवस्थामा अगाडि झुक्दै घुँडाबाट सीधा हत्केलालाई भुईमा राखौं टाउकोले घुँडा छोउँ ।
४. देब्रे खुट्टा घुँडाबाट खुम्च्याएर दाहिने खुट्टा पछाडि लैजाने र दुबै हातले टेक्दै गर्दन घुमाइ सकेसम्म माथि हेरौं ।
५. अब दुबै खुट्टा पछाडि लैजाने र दुबै हात सीधा बनाइ टेकेर शरीरलाई लौरो झैँ सीधा गरौं ।
६. दुबै हात कुइनाबाट खुम्च्याएर पञ्जामात्रले टेकेर सारा शरीरको भार खुट्टाका औंला र हातका पञ्जामा हुने गरि शरीरलाई भुईको नजिकै सीधा राखौं ।
७. कम्मरभन्दा तलको भाग भुईमा राखी सोझा हातले टेकेर शरीरको माथिल्लो भागलाई पछाडितिर लैजाऔ ।
८. कम्मरलाई सबभन्दा माथि उठाऔं ।
९. नम्बर ४मा गरे झैँ दाहिने खुट्टा खुम्च्याइ टेकेर देब्रेलाई पछाडि सीधा पार्दै दुबै हातले टेकेर शरीरलाई पछाडि लैजाने र माथि हेरौं ।
१०. दुबै खुट्टामा उभिएर दुबै हत्केलाले भुईमा टेकेर घुँडा नखुम्च्याइकन टाउकोले घुँडा छोएर बसौं ।
११. दुबै हत्केला पूर्ब देखाएर माथि उठाउदै शरीरलाई पछाडि झुकाउँ ।
१२. सामान्य स्थितिमा नमस्कार गरेर उभिउँ ।
यो प्रक्रिया कमसेकम २ पटक अधिकतम ५ पटक गरौं ।
आसनको यो अभ्यासपछि एकछिन शवासनमा उत्तानो सुतेर शरीरलाई ढिला गरेर आँखा बन्द, लामो लामो श्वास प्रश्वास गर्दै विश्राम गरौं । आसन धेरै हुनसक्छन् । आवश्यकता अनुसार बढाउन मिल्छ । हरेक आसन गरेपछि शवासनमा विश्राम अनिवार्य गर्नैपर्छ । आसनको अध्याय पूरा भएपछि प्राणायाम गरौं ।
प्राणायामका पनि धेरै प्रकार छन । ती मध्ये पूरक कुम्भक रेचक कुम्भक यो ४ स्थितिमा प्राणको व्यायामले हामीलाई अदभूत शक्ति दिन्छ । आज हाम्रो श्वासप्रश्वासमा कत्ति पनि नियन्त्रण छैन तर लामो समयसम्म प्राणायाम गर्यौं भने प्राणमाथि नियन्त्रण हुन्छ । यो सजिलै गर्न सकिन्छ । पद्मासन या सुखासनमा बसौं । दाहिने हातको बुढी औंलाले नाकको दाहिने प्वाल थुनौं । देब्रे प्वालबाट सुस्त सुस्त सास भरौं । यही पूरक हो । भरिएपछि माइली र साइली औंलाले देब्रे प्वाल पनि बन्द गरौं । अब सास रोकेर बसौं । यही कुम्भक हो । गाह्रो हुन थालेपछि दाहिने प्वालबाट सुस्त सुस्त निकालौं । यो रेचक हो । पूरा सास निकालेर रित्तो बनाएर फेरि नाक बन्द गरौं, सासलाई बाहिरै रोकौं । यो बाह्य कुम्भक हो । यसै प्रक्रियालाई ३ पटक दोहोर्याऔं । यसबाट नाडी शोधन लगायत धेरै फाइदाहरु र जानकारीहरु पाइन्छ ।
प्राणायामपछि अब एकैछिन ध्यान गरौं । ध्यानले मनको व्यायाम हुन्छ । मन स्वस्थ निरोगी बन्छ । त्यसबाहेक पनि ध्यानका धेरै फाइदा छन । सजिलो हुने आसनमा बसौं । ढाड कम्मर गर्दन शिर सीधा गरेर बसौं । आँखा बन्द गरौं । इष्टदेवको ध्यान गरौं । एक चित्त हुनु नै ध्यान हो । एउटै चित्र या मन्त्रमा ध्यान अडिन पर्यो । दुई चिज हुने बित्तिकै ध्यान ध्यान रहँदैन । यो शुरुमा गाह्रो हुनसक्छ । अभ्यास गर्दै जाँदा सहज र सम्भव हुनथाल्छ । धेरैले सजिलोका लागि श्वासप्रश्वासमा ध्यान गर्छन् । विपश्यनाले हामीलाई श्वासप्रश्वासको बाटोबाट भित्रका गतिविधि हेर्न सिकाउँछ भने विश्व विख्यात महर्षि महेश योगी, भावातीत ध्यान अनुसार मन्त्र या चित्रको ध्यान गर्दै अन्ततोगत्वा चित्र या मन्त्र पनि मेटिने र सबै प्रकारका भावहरु भन्दा पर शून्यतामा समाधि अर्थात् सुपर कन्सस्नेस प्राप्त हुन्छ ।
आदरणीय पाठक वृन्द !
आसन प्राणायाम र ध्यानको यो अभ्यास शुरुमा असजिलो भए झैँ लागे पनि २/४ दिनमै सामान्य हुन्छ । पहिलो दिन देखि नै हजुर हामीलाई अनौठो आनन्द अनुभव हुनथाल्छ । पछिपछि हामीले हाम्रो शरीर मन प्राण बुद्धि सबैमाथि नियन्त्रण गर्न सक्छौं । अब कुनै आदत, कुलतले दु:ख दिन सक्तैन । हामी हाम्रो वशमा हुन्छौं । स्वतन्त्र र समर्थ हुन्छौं । जीवन परिवर्तित र संयमित हुन्छ । हर घडी प्रसन्न र फ़ुर्तिलो भइन्छ । अचम्मको स्थिति अनुभव हुन थाल्छ । जीवन सामान्यबाट असामान्य बन्दै जान्छ । भनेरै नसकिने राम्रा कुराहरु अनुभव हुन थाल्छ । त्यसबेला आजको यो मामूली एडिक्ट मानव समाप्त भएको महसुस हुन्छ । मानव जीवन साँचो अर्थमा सार्थक जीवन बन्दछ । हामी धन्य बन्दछौं । हाम्रा कुल पितृहरु पनि प्रसन्न भएर आशीर्वाद दिन थाल्दछन् । यही साधना वर्षौंसम्म चलिरहेमा सिद्ध भइन्छ । आफू पनि अरुलाई आशिर्वाद दिनसक्ने देव- योनी प्राप्त हुन्छ । थाल्नु पर्यो, थालेपछि गर्दै जाँदा सबैथोक आँफै ठिक हुँदै जान्छ । सूर्य उदाए सि अँध्यारो गायब भए झैं सुस्त सुस्त विघ्नहरु आँफै हटेर जान्छन् ।
हरिॐ तत्सत्