वैदिक सनातन धर्म संस्कृतिको मूल उद्देश्य

हरिॐ ! वैदिक सनातन धर्म संस्कृतिको मूल उद्देश्य के हो ? धर्म अर्थ काम मोक्ष यी चार पुरुषार्थको सम्पादन हरेक व्यक्तिले गर्न सकुन् भन्ने नै वैदिक धर्म संस्कृतिको मूल उद्देश्य हो ।
(क) धर्म भनेको के हो ?
१. स्वभाव धर्म हो । स्वभाव शब्दको अर्थ गहन छ । निद्रामा घुर्ने स्वभाव धर्म हुनसक्तैन । सानो सानो कुरामा रिसाउने स्वभाव नि धर्म हुनसक्तैन । त्यसैले स्वभाव भन्नाले स्व=आत्माको, भाव=आशय नै स्वभाव हो । आत्माले अरुलाई रोएको, दु:ख पाएको देख्न चाहन्न । अरुलाई दु:ख दिन या दु:ख हुने काम गर्न चाहन्न । बरु अरुलाई प्रसन्न देख्न चाहन्छ । यो र यस्तै प्रकारका स्वभावहरु धर्म अन्तर्गत पर्दछन् । आगोको पोल्ने र उज्यालो दिने स्वभाव, पानीको शीतलता र भिजाउने स्वभाव पनि धर्म भित्रै बुझिन्छन् । स्वभावोsध्यात्ममुच्यते ।

२. महर्षि कणाद–यतोsभ्युदय नि:श्रेयस:सिद्धि: स धर्म: ।

अर्थात् जसबाट सर्वाङ्गीण उन्नति र अन्तिम उँचाई प्राप्त हुन्छ त्यो धर्म हो । यसबाट के बुझिन्छ भने धर्म एउटा सर्वोत्तम साधन हो जसले हामीलाई सर्वोच्चतातिर लैजान्छ । ३. महर्षि मनुका अनुसार-
धृति: क्षमा दमो s स्तेयं शौचम् इन्द्रिय निग्रह: ।
धीर्विद्या सत्यम् अक्रोध: दशकं धर्मलक्षणम् ।।

धारणा, क्षमा, संयम,चोरी नगर्नु, पवित्रता, इन्द्रियमाथि संयम, बुद्धि, अध्ययन, सत्याचरण, रिस नगर्नु, यी दस धर्मका लक्षण अर्थात् परिचायक सामग्री हुन् ।

४. नीतिशास्त्र —
विद्या ददाति विनयं विनयात् याति पात्रताम् ।
पात्रत्त्वात् धनमाप्नोति धनात् धर्मं तत: सुखम् ।।

यहाँ विद्याले विनम्रता, विनम्रताले पात्रता, पात्रताले धन, धनले धर्म र धर्मले सुख हुन्छ भनेकाले पनि धर्मको एउटा रूप के हो भन्ने बुझिन्छ ।

५. धारणात् धर्मम् इत्याहु: धर्मो धारयते प्रजा: ।
व्याकरणको व्युत्पत्तिमूलक अर्थ खोज्दा धृ धातुबाट भावार्थमा मुट प्रत्यय जोडिए सि धर्म शब्द बन्दछ जस्को अर्थ धारण गर्न योग्य स्वभाव भन्ने हुन्छ ।
समग्रमा भन्नुपर्दा आफू प्रसन्न रहेर अरुलाई नि बढी भन्दा बढी प्रसन्न राख्ने कल्याण हुने सकल कल्याणकारी कर्म नै धर्म हो । हाम्रो परम कल्याणको एकमात्र साधन धर्म हो । धर्मलाई चिनेर जानेर समयानुकूल धर्मको अभ्यास गरेन भने मानव जीवनले राम्रो गति अथवा उँचाई लिन सक्तैन । त्यसैले वैदिक धर्म संस्कृतिको मुख्य उद्देश्य भित्र सर्वप्रथम धर्मको स्थान छ ।

(ख) अर्थ भनेको के हो ?
सामान्यतया हरेक शब्दका धेरै अर्थहरु हुने गर्छन् । शब्दको अर्थ पनि एउटा अर्थ हो । प्रयोजन, उद्देश्य, कारण आदि अनेक अर्थमा अर्थ शब्दको प्रयोग पाइन्छ । अर्थ शब्दका अनेक अर्थ मध्ये धन पैसा पनि अर्थ शब्दको एउटा अर्थ हो । धन बिना कुनै काम हुँदैन, जीवन चल्दैन । पर्याप्त धन कमाउनै पर्छ, अन्यथा दु:ख भोग्न बाध्य भइन्छ । पैसा सर्व-शक्तिमान वस्तु हो । पैसा पर्याप्त नभएकासित बिबाह हुँदैन, पैसा बिना बच्चा जन्माउन सकिन्न, जन्मे नि पाल्न सकिन्न । बच्चालाई पढाई लायकको बनाउन सकिन्न । बिना पैसाको जीवन आरम्भ नै हुँदैन ।
महर्षि भर्तृहरि
स एव बक्ता स च दर्शनीय: सर्वे गुणा: काञ्चनमाश्रयन्ति ।
धनको बखान गरेरै सकिन्न, त्यस्तो महिमा मण्डित धन आर्जन गर्नैपर्छ भन्दछ हाम्रो वैदिक धर्म संस्कृतिले । धनको यथोचित वितरण या सदुपयोगको बारेमा पनि हाम्रा शास्त्रहरुमा प्रसस्त निर्देश या विचारहरु पाइन्छ । धन न भएमा हाम्रो पेट भोकै हुन्छ, पत्नीले भनेको मान्दैनन् । बच्चाहरु वशमा हुँन्नन, बा आमाले पनि नकमाउने छोरालाई धिक्कार्छन् । दाजुभाइले रुचाउन्नन् । इष्टमित्र सहयोगी हुँदैनन् । जीवन नारकीय बन्दछ । त्यसैले मानव भएर जन्मेपछि धर्म तत्त्वलाई बुझेर आफ्नो स्वधर्मको निर्वाह गर्दै सकेसम्म अर्थ आर्जन गर्नैपर्छ । धर्म बुझ्नु र गर्नु एउटा पुरुषार्थ हो भने अर्थको आर्जन गर्नु सदुपयोग गर्नु दोस्रो पुरुषार्थ हो ।
( ग ) काम भनेको के हो ?
काम शब्दका पनि अनेक अर्थ छन् । हामीले दैनिक रूपमा गर्ने अनेक कामहरु पनि काम हुन् । कामनाहरु पनि काम हुन् । यौन क्रीडा पनि काम हो । यहाँनेर काम शब्दको अर्थ यौन क्रीडा गर्नु, सन्तान जन्माउनु, पाल्नु आदि अर्थको सूचक हो । यो अत्यन्तै प्राकृतिक प्रक्रिया हो र यसलाई हाम्रा बाउ बाजेले के किन नभनिकन यसमा सरीक भए फलत: आज हामी भयौं । हामीले पनि यसलाई राम्रो भन्दा राम्रो तरिकाले सम्पादन गर्नैपर्छ । यसका पनि धेरै फाइदाहरु छन् । यौनजन्य आनन्द, तज्जन्य सन्तति, र यसका अन्य विविध आयामहरुलाई हेर्‍यौं भने हामी पाउँछौं कि यो काम संसारको सर्वोत्तम सामग्री हो । यसैबाट संसार चलेको छ, चलिरहनेछ । संसारका रचयिता ईश्वरले एक एक वस्तु आफ्नै हातले न बनाएर कामकै माध्यमबाट गर्ने हुनाले वेदादि अनेक ग्रन्थमा ईश्वरको नाम पनि काम भएको पाइन्छ । काम पनि सर्व-शक्तिमान छ । त्यसैले कामलाई चिन्नु जान्नु ईश्वर-इच्छालाई बुझेर यसको उच्चतम सदुपयोग गर्दै जीवनमा सत्कर्म गर्दै अघि बढ्नु तेस्रो पुरुषार्थ हो ।
( घ ) मोक्ष भनेको के हो ?
हामीलाई दु:ख मन पर्दैन । दु:खबाट मुक्त हुनु नै मोक्ष हो । दु:ख धेरै प्रकारका छन । जीवनमा आउने जाने अनेक तरहका दु:ख झैँ जन्मनु र मर्नु अनि फेरि जन्मनु फेरि मर्नु यो झन ठूलो दु:ख हो । जबसम्म हामीमा संसारका अनेक वस्तुको तीब्र चाहना भइरहन्छ, नाशवान वस्तुप्रति मोह भाव रहिरहन्छ तबसम्म जन्मने र मर्ने प्रक्रिया पनि जारी रहन्छ । जब हामीमा सांसारिक वस्तुप्रति कुनै मोह रहन्न, सबै प्रकारको मोह भावको क्षय हुनु नै मोक्ष हो । यो अवस्थामा पुग्न सत-शास्त्रहरुको अध्ययन, सत्संग, साधना जरुरी मानिन्छ ।
कर्माणि चित्त शुद्ध्यर्थम् , एकाग्र्यर्थम् उपासना ।
मुक्त्यर्थम् आत्मविज्ञानम्, इति वेदान्तडिण्डिम: ।।
वर्ण-आश्रम व्यवस्था अनुसारका निर्धारित कर्महरुद्वारा चित्त शुद्ध भएपछि उपासनाद्वारा एकाग्रता सिद्ध भएपछि आत्म-ज्ञान भएमा मोक्ष अर्थात् मुक्ति प्राप्त हुन्छ, यही नै वेदान्त दर्शनको डिण्डिम घोष हो । मोक्ष प्राप्त भएपछि अब जन्म-मरणको चक्रबाट मुक्त भइन्छ । जन्मै न भए सि जीवित अवस्थामा आइपर्ने सबै दु:खबाट पनि मुक्त भइन्छ ।
मोक्ष प्राप्त भएपछि हाम्रो कस्तो अवस्था हुन्छ त ?
वेद उपनिषद् पुराण गीता आदि अनेकन शास्त्रहरुको भनाइ अनुसार जसरी पानी, समुद्रबाट बाफ बनेर आकाशमार्ग हुँदै हिमालयमा हिउँ बनेर पग्लिएर खोला खोल्सा हुँदै फेरि समुद्रमा पुगे सि शान्त भए झैँ हामी जीवात्माहरु परमात्माका अंश हौं । उनै सत्य चिन्मय आनन्द स्वरूप परमात्मामा पुगेर शान्त हुन्छौं, आनन्द प्राप्त गर्छौं ।
हरिॐ तत्सत्

Leave a Comment

Your email address will not be published. Required fields are marked *