नव-ग्रह, प्रभाव र उपाय

वैदिक सनातन धर्म-संस्कृति संसारको सबैभन्दा जेठो र
वैज्ञानिक संस्कृति हो । संसारमा कुनै पनि संस्कृति-सभ्यताको उदय नहुँदै पृथ्वीमा पर्ने सूर्य आदि ग्रहको प्रभाव र महत्व बुझेर मानव जातीलाई यिनको पूजा या सम्मान गर्नुपर्छ भनेर वेदले सिकाएको छ ।

चित्रन्देवानामुदगादनीकम् चक्षुर्मित्रस्य बरुणस्याग्ने: । आप्राद्यावापृथिवी अन्तरिक्षम् सूर्य आत्मा जगतस्तस्थुषश्च ।
कृष्ण यजुर्वेद १६/ ४५
आश्चर्य लाग्दा देवता हुन सूर्यदेव । यो जगतको र सबै प्राणीको आत्मा हो सूर्य । हामी सबैको आँखा हो । सबै लोकले मान्नु पर्ने देवतालाई हामी पनि सम्मान गरौं । सम्मान
पृथ्वी आँफैमा एउटा ग्रह हो । मानव लगायतका जीवहरुको जीवन सम्भव भएको ग्रह पृथ्वीमात्र हो । पृथ्वीमै केही त्यस्तो छ कि जीवन सम्भव भएको छ । पृथ्वीभित्रका सामग्रीले मात्र यो सम्भव भएको हैन । तेज वायु आकाश लगायत विभिन्न ग्रहहरुको वीचमा रहेर पृथ्वीले जुन सन्तुलन प्राप्त गर्छ त्यो झनै महत्त्वपूर्ण कुरा हो । यही तारतम्यले नै पृथ्वीमा जीवन सम्भव भएको छ भन्नेमा संसारभरिका खगोलविदहरु सहमत देखिन्छन् ।

सूर्यको प्रभाव कति छ भन्ने वारेमा कसैले कसैलाई केही भनिरहन पर्दैन । आँफैमा स्पष्ट छ । चन्द्रमाको बारेमा पनि धेरै कुरा स्पष्ट नै छ तर पनि सूर्य जति हैन र छैन । फेरि पनि पृथ्वीवासीलाई यसले अत्यन्तै प्रभाव पारेको छ र पारिरहन्छ । मानव शरीरको रचनामा कुन ग्रहको के भूमिका हुन्छ त्यो पनि वेद आदि शास्त्रमा उल्लेख छ । सम्पूर्ण जीव जगतको आत्मा सूर्यबाट प्रकट हुन्छ भने सबैको चित्त चन्द्रमाबाट बन्ने गर्छ । मङ्गल ग्रहको प्रभाव पनि उत्तिकै हुने गर्छ । पृथ्वी-पुत्र मानिने मङ्गलबाट हाम्रो रक्त मज्जा वशा मांस हड्डी आदि बन्ने मानिन्छ । बुध ग्रहको प्रभावबाट हामीमा विद्या बुद्धि वाणीको विकास भएको छ । वृहस्पतिको प्रभावले हामीमा शान्ति सन्तोष मैत्री करुणा मुदिता आदि भावहरुको विकास भएको हुन्छ । शुक्रको प्रभावबाट सुख आनन्द यौन सम्वन्धी अंगहरुको विकास र सक्रियता आदि हुने गर्छ । शनिबाट परिश्रम दु:ख आलस्य आदि भावहरुको बिकाश भएको हुन्छ । राहु र केतु छाँया ग्रह मानिन्छन । राहु विदेश भ्रमण, बाहुबल आदि शक्तिको विकासक मानिन्छ भने केतु चोटपटक खत दाग कारक र कुलबर्धक मानिन्छ । यी त मोटामोटी परिचयमात्र हो । ग्रहको प्रभावको सम्पूर्ण व्याख्या गरेरै सकिन्न भन्ने बुझ्नुपर्छ ।

वेदका ६ वटा अंगहरु छन् ।
छन्द: पादौ तु वेदस्य हस्तौ कल्पोSथ पठ्यते ।
शिक्षा घ्राणं तु वेदस्य निरुक्तम् श्रोत्रमुच्यते ।।
ज्योतिषामयनं चक्षु: मुखं व्याकरणं स्मृतम् ।।
पाणिनीयशिक्षा १६/१७
छन्द शास्त्र वेदका खुट्टा हुन् । कल्प शास्त्र हात हुन् । शिक्षाशास्त्र
नाक हो । निरुक्त शास्त्र कान हुन् । ज्योतिषशास्त्र आँखा हुन् । व्याकरण मुख हो ।
ज्योतिषशास्त्र वेदका आँखा हुन र यी आँखाले सकल ब्रह्माण्डभरिका ग्रह नक्षत्रहरुको अध्ययन गरेको पाइन्छ । अनन्त ग्रह नक्षत्रहरु मध्ये अश्विनी भरणी आदि सत्ताइस नक्षत्रहरुको एउटा सर्कलभित्र बाह्र राशिहरुको सीमा व्यवस्था छ । यही परिधिभित्र सूर्य आदि नव- ग्रहहरु चलायमान हुन्छन् । सूर्य आदि नव- ग्रहहरुले पृथ्वीवासीलाई प्रभाव नपार्ने त कुरै भएन, कुन ग्रहले कहिले र कस्तो प्रभाव पार्छ भन्ने जस्ता सूक्ष्म विषयमा पनि ज्योतिषशास्त्रले अध्ययन गरेको पाइन्छ । संस्कृत विश्वविद्यालयहरुमा स्नातकोत्तर तहमा पढाइने बैद्यनाथ विरचित जातक पारिजात नामक ग्रन्थमा कुन कुन ग्रहले हामीलाई कुन कुन विषयमा प्रभाव पार्छ भन्ने विषयमा लेखिएका थोरै कुरा उद्धृत गर्न चाहन्छु ।

सूर्यादात्म-पितृप्रभाव-निरुजा-शक्ति-श्रियश्चिन्तयेत्
चेतो- बुद्धि- नृपप्रसाद- जननी- सम्पत्करश्चन्द्रमा ।
सत्वं-रोग-गुणानुजावनि सुता: ज्ञाति र्धरासूनुना
विद्या बुद्धि विवेक-मातुल-सुहृत-त्वककर्मकृद्बोधन: ।।१

प्रज्ञा – नित्यशरीरपुष्टि -तनय- ज्ञानानि वागीश्वरात्
पत्नी -वाहन – भूषणादि- मदन- व्यापार -सौख्यं भृगो: ।
आयुर्जीवन -मृत्युकारण-विपत-सम्पत-प्रदाता शनि:
सर्पेणैव पितामहं तु शिखिना मातामहश्चिन्तयेत् ।।२ ।
जातक-पारिजात
सूर्यबाट- आत्मबल, पिताको प्रभाव, निरोगिता, बल, श्री अर्थात शुभकर्मद्वारा आर्जित यश प्रतिष्ठा आदि ।
चन्द्रमाबाट- चित्त, राजकीय सम्मान, मातृसुख, सम्पत्ति आदि
मङ्गलबाट- बल, रोग, गुण-अवगुण, दाजुभाइ, जग्गा जमीन, छोरा, आफन्त इत्यादि । बुधबाट- विद्या आर्जन, बुद्धिमत्ता, विवेक, मावली सुख, मित्रसुख, छाला सम्बन्धि कर्मकारक हुन्छ । वृहस्पतिबाट- प्रज्ञा अर्थात विशिष्ट ज्ञान, सधैं शरीरको पुष्टि, छोरा छोरी, विविध ज्ञान आदि । शुक्रबाट- पति/पत्नी, सवारी साधन, आभूषण, यौन-शक्ति, व्यापार र सुख आदि । शनिबाट- आयु, जीवनको अवस्था, मृत्युको कारण, विपत्ति, र सम्पत्ति आदि । घरतिरका हजुरबुबाको बारेमा राहुबाट र मावलका हजुरबुबाको बारेमा केतुबाट बुझ्नुपर्छ ।

प्रिय पाठक !

शुरु शुरुमा ज्योतिष सम्बन्धि कुरामा धेरैले विश्वास गर्दैनन् । यसलाई विश्वास नगरेको भन्नू भन्दा पनि ज्योतिषीय प्रभावको बारेमा नजानेको भन्नू बढी उपयुक्त देखिन्छ । जब जीवनमा आइपर्ने अनेक यस्ता परिस्थिति, जसमा हाम्रो कुनै वश चल्दैन, बाध्यतावश भोग्नैपर्छ । अनि उपाय नपाएर विश्वास गर्छन् या भनौं यसको प्रभावको बारेमा पनि सचेत हुनथाल्छन् । म स्वयं संस्कृत व्याकरणको पढाई पूरा गरेर विश्वविद्यालयमा पढाउन थालेपछि पनि ज्योतिष आदि शास्त्रमा सम्मानभाव त हुन्थ्यो तर त्यसमा उति विश्वास हुँदैनथ्यो । पछिपछि जीवनका अनेक भोगाइहरु भोग्दै जाँदा विश्वास बढन थाल्यो । आँफैले पनि पढन थालें । पढ्दै जाँदा विश्वविद्यालयका ज्योतिष विषयका प्राध्यापक मित्रहरूसंग पनि विचार-विमर्श बढ्दै गएपछि आफै पनि चिना हेर्ने हेराउने हुनथाल्यो । झनै रूचि बढ्दै गयो । अझ बढी अध्ययन र चिना हेर्न काम बढ्दै गयो । यो क्रम विगत २० बर्षदेखि निरन्तर चलिरहेको छ । यहाँसम्म आइपुग्दा के निष्कर्षमा पुगेको छु भने- हामी सबैमा एउटा भ्रमको भूत सवार भएको हुन्छ त्यो के भने म नै कर्ता हुँ भन्ने । मैले चाहेर नै मैले सबै काम गर्छु भन्ने प्रकारको भ्रम नै भूत हो । भूत अर्थात् अवास्तविक हो । वास्तविकता के रहेछ भने हाम्रा खटनले केही पनि नहुँदो रहेछ । हामी हाम्रा खटनले जन्मेको पनि हैन, आज जे जस्तो हुनपुगेका छौं त्यो पनि हाम्रा खटनले भएको होइन । रोगी हुनु, बूढो हुनु, मर्नु आदि कुनै कुरामा हाम्रो खटन चल्दैन । विद्या, धन, सुख आदिको आर्जनमा पनि हाम्रो कत्ति पनि खटन चल्दैन ।

संसारमा कसैले कहिल्यै दु:ख पाउन चाहन्न र पनि सबैले अनेक रूप र आकारका दु:ख पाएका र भोगिरहेका छन् । यसबाट के सिद्ध हुन्छ भने हामी पूर्णरूपमा परतन्त्र छौं । स्वतन्त्रताको भान भए नि स्वतन्त्र छैनौं । यिनै ग्रहहरुको पूर्ण प्रभावले हामी प्रभावित छौं । यसको प्रभावले नै जन्मियौं, यसकै प्रभाव अनुसारको जीवन जिउँछौं, र यसकै प्रभाव अनुसारको मृत्यु वरण गर्छौं । जीवनमा महत्त्व नराख्ने केही साना तिना कुरामा मात्र हाम्रो खटन हुनेगर्छ । मान्छे यसैमा नराम्ररी झुक्किन्छ । सबै कुरामा आफ्नो खटन हुन्छ भन्ने भ्रमको सिकार बन्नपुग्छ । हामीले यत्र तत्र देखिरहेका छौं कि कोही सामान्य मान्छे निक्कै ठूलो स्थानमा छन् । कोही निकै ठुला मानिनेहरु दुर्दशा भोगिरहेका छन् । यो सबै कुरा के बाट निर्धारित छ त ? भन्ने प्रश्नको एकमात्र उत्तर ग्रहको प्रभाव नै हो । यसै वास्तविकतालाई प्रकाश पार्दै लेखिएको स्कन्दपुराणको केही वचनहरु उल्लेख गर्नु सान्दर्भिक मान्दछु ।

गर्ग उवाच
देव-दानव-गन्धर्वा-यक्ष-राक्षस-किन्नरा: ।
पीडिता ग्रहपीडाभि: किं पुनर्भुवि मानवा: ।। १ ।।
शनैश्चरेण सौदासो नरमांसे नियोजित: ।
राहुणा पीडितो राजा नलो भ्रान्तो महीतले ।। २ ।।
अंगारकविरोधेन रामो राष्ट्राद् विवासित: ।
अष्टमेन शशांकेन हिरण्यकशिपुर्हत: ।। ३ ।।
रविणा सप्तमस्थेन हतो राजा सुयोधन: ।
पाण्डवा: बुधपीडायां विकर्मणि नियोजिता: ।। ४ ।।
षष्ठेनोशनसा युद्धे हिरण्याक्षो निपातित: ।
एते चान्ये च बहवो ग्रहदोषै: निपीडिता: ।। ५।।

अर्थ- महर्षि गर्ग भन्नुहुन्छ —
मानवभन्दा धेरै शक्तिशाली मानिने देवता दानव गन्धर्व यक्ष राक्षस र किन्नरहरु त ग्रहको पीडाबाट पीडित हुन्छन् भने मानवको के कुरा गर्नु ? पीडित नहुने त कुरै भएन । १ । शनि-ग्रहबाट पीडित राजा सौदासले नर मांस खानुपर्‍यो । राहुले पीडित नल राजा संसारभरि भौंतारिन पर्‍यो । २ । मङ्गल-ग्रहको दुष्प्रभावले गर्दा रामलाई राज्यबाट निर्वासित हुनपर्‍यो । आठौं चन्द्रमाको कारणले हिरण्यकशिपु मारियो । ३ । सातौं स्थानको सूर्यको कारण राजा सुयोधन मारिए ।
बुध-ग्रहको पीडाले पाण्डवहरुलाई नोकर बन्नुपर्‍यो । ४। छैठौं स्थानको शुक्रले गर्दा हिरण्याक्ष मारियो । यी र अरु यस्ता थुप्रै ग्रह पीडाले पीडित भए । हामी पनि यिनै ग्रहको प्रभावमा हुन्छौं ।

नव-ग्रहको दुष्प्रभावबाट बच्ने र सकारात्मक प्रभाव बढाउने उपायहरु सम्बन्धि संक्षिप्त विवेचना प्रस्तुत छ ।

सूर्यको दुष्प्रभावबाट बच्न र सकारात्मक प्रभाव पाउन आइतबार व्रत बस्नु, सूर्यलाई प्रतिदिन जल चढाउनु, शिवजीको पूजा रुद्री आदि गराउनु, रूबीको औंठी लगाउनु, सूर्य-मन्त्र जप गर्नु, रातो कपडा लगाउनु या दान गर्नु, तामाको दान गर्नु, र ग्रह-शान्ति आदि गर्नुपर्छ ।

चन्द्रमाको दुष्प्रभावबाट बच्न र सकारात्मक प्रभाव बढाउन सोमबार व्रत, शिव-पूजा, पूर्णिमा व्रत, मोतिको औंठी या माला लगाउनु, सेतो कपडा दान गर्नु या लगाउनु, दही या चामल या चिनी दान गर्नु, चन्द्र-मन्त्र जप, ग्रह-शान्ति गर्नु आदि उपाय गर्नुपर्छ ।

मङ्गल-ग्रहका लागि मङ्गलबार व्रत, गणेश या हनुमानको पूजा, मूगाको औंठी या माला धारण गर्नु, रातो बस्त्र लगाउनु या दान गर्नु, मङ्गल-मन्त्र जप, ग्रह-शान्ति आदि उपाय गर्नुपर्छ ।

बुध-ग्रहका लागि बुधबार व्रत, दुर्गा पूजा गर्नु, हरियो कपड़ा लगाउनु या दान गर्नु, पन्नाको औंठी या माला लगाउनु, बुध-मन्त्र जप गर्नु, ग्रह-शान्ति गर्नु यिनै उपाय हुन्

वृहस्पति-ग्रहका लागि वृहस्पतिवार व्रत, केराको बोटमा पहेँलो पूजा सामग्रीले पूजा गर्नु, पहेँलो कपडा लगाउनु या दान गर्नु, पुष्पराजको औंठी या माला लगाउनु, वृहस्पति- मन्त्र जप गर्नु, ग्रह-शान्ति आदि उपाय गर्नुपर्छ भनिएको छ ।

शुक्र-ग्रहका लागि शुक्रबार व्रत, दुर्गा पूजा, हीराको औंठी धारण गर्ने, कन्याहरुलाई सेता गुलिया खानेकुरा ख्वाउने, सेतो बस्त्र धारण गर्ने या दान गर्ने, शुक्र-मन्त्र जप गर्ने, ग्रह-शान्ति आदि गर्नुपर्छ ।

शनि-ग्रहका लागि शनिबार व्रत, पीपल पूजा, शिवजीको पूजा, नीलमको औंठी धारण गर्ने, कालो कपडा दान या धारण गर्ने, फलाम या सिक्का पैसा गरीब या जोगीलाई दान गर्ने, शनि-मन्त्र जप गर्ने, ग्रह- शान्ति गर्ने आदि उपायहरु प्रचलित छन् ।

राहु-ग्रहका लागि शनिबार व्रत बस्ने, पीपल या शिवजीको पूजा गर्ने, जोगी या गरीबलाई भोजन गराउने, गोमेदको औंठी या माला धारण गर्ने, राहु-मन्त्र जप गर्ने, ग्रह-शान्ति गर्ने आदि उपायहरु गर्नुपर्छ ।

केतु-ग्रहका लागि शनिबार व्रत, पीपल या शिवजीको पूजा, नौरंगी कपडा धारण या दान गर्ने, लहसुनियाको औंठी या माला धारण गर्ने, केतु-मन्त्र जप गर्ने, ग्रह-शान्ति आदि गर्नुपर्छ ।

हरिॐ तत्सत् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *