सम्भोग र श्रीपञ्चमी

हिन्दु वैदिक सनातन धर्म-संस्कृति संसारको सबैभन्दा पुरानो संस्कृति भएकाले यसभित्र अरुमा भन्दा धेरै पर्व र उत्सवहरु देखिन्छन् । व्रतराज, वार्षिक रत्नावली, व्रत-रत्नाकर जस्ता थुप्रै पुस्तकहरुमा वर्षभरिका व्रत-उत्सवहरु कहिले गर्ने ? के गर्ने ? किन गर्ने ? कुन देवताको पूजा गर्ने आदि अनेक विषयको वर्णन पाइन्छ । यिनै उत्सवहरु मध्ये केही नेपालमा केही उत्तर भारतमा केही मध्य भारतमा केही दक्षिण भारतमा मनाइन्छ । नेपालमा पनि सबै पर्वहरुलाई बराबर जोर लगाएर मनाईदैन ।

दशैं तिहार तीज छठ यी ठुला पर्व हुन् भने जनै पूर्णिमा श्रीपञ्चमी महाशिवरात्री राम-नवमी आदि साना पर्व हुन् । सबै पर्वका आ-आफ्नै विशेषता र महत्त्व छन् । दशैंमा महाशक्तिको उपासना, तिहारमा यम, यमदूत, गाई, लक्ष्मी र भाइको पूजा, तीजमा शिवजीको पूजा, छठमा सूर्यको पूजा गरिन्छ । जनै पूर्णिमामा सप्त-ऋषि पूजा, श्रीपञ्चमीमा सरस्वती पूजा, शिवरात्रीमा महादेवको पूजा र राम नवमीमा श्रीराम पूजा गरिन्छ । अरु पनि थुप्रै पर्वहरु छन् जसमा होली पूर्णिमा, वैशाखे सङ्क्रान्ति माघे सङ्क्रानति ठुली एकादशी आदि पर्दछन् ।

हरेक पर्वले जीवनमा महत्व राख्ने कुनै न कुनै देवता या शक्तिको पूजा या सम्मान गर्नुपर्ने शिक्षा दिएको हुन्छ । तत्तत् पर्व मनाऔं या नमनाऔं, धूमधामसित मनाऔं या सामान्यरूपमा मनाऔं त्यो ठूलो कुरो हैन । ठुलो कुरो के हो भने तत्तत् पर्वका उपास्य शक्ति को हुन् र हाम्रो जीवनमा त्यसको के महत्त्व र स्थान छ भन्ने बुझ्न र त्यसको यथोचित सम्मान गर्न जान्यौं भने बल्ल पर्व या उत्सव मनाएको सार हुन्छ ।

श्रीपञ्चमीमा सरस्वतीको पूजा त गर्छौं तर पढाइको महत्व बुझेनौं भने, पढेनौं भने त्यो पूजाको सार नभएको ठहर्छ । सरस्वतीको पूजा गर्दा पनि अरु केही थप ध्यान दिनुपर्ने विषयमा हाम्रो ध्यान पुगेको छैन । त्यो के हो भने- सरस्वतीको पूजा गर्ने भनेको के हो ? सरस्वतीको चार हातमा राम्ररी हेरौं । वेदको पुस्तक छ । जप गर्ने माला छ । वीणा छ । पुस्तक सबै प्रकारको ज्ञानको प्रतीक हो भने माला जप गर्ने भनेको पढेका कुरा याद गरिराख्नु, नबिर्सनु भनेको हो । वीणाको अर्थ संगीत विद्या जान्नुपर्छ भन्ने हो र विद्याको उपयोग गर्दा वीणा जस्तो सुमधुर ध्वनि जसले मनुष्यलाई मात्र हैन चरा आदि प्राणीलाई पनि प्रिय हुने गरि सबै प्राणीको हित हुने गरि विद्याको उपयोग गर्नुपर्छ भन्ने बुझ्नुपर्छ । यसरी पुस्तक माला र वीणाको संकेत बुझेर काम गरेमा बल्ल ठीक अर्थमा सरस्वती पूजा सार्थक ठहर्छ

श्रीपञ्चमीकै दिन रति र कामदेवको उत्पत्ति भएको शास्त्रीय कथन छ । रति शब्दको अर्थ स्त्रीमा विद्यमान सम्भोग शक्ति हो भने कामदेवको अर्थ पुरुषमा हुने काम-शक्ति हो । जीवनमा यो शक्तिको महत्त्व भनेरै सकिन्न । सारा चराचर जगतको सृष्टि यसैबाट चलेको छ । प्रायः हामी सबैले रति र कामदेवको पूजा गर्दैनौं । महत्त्व पनि राम्ररी बुझेका छैनौं । यी देवी र देवताको वे-वास्ता गरेकै कारण आज हामी भित्र यो शक्ति ह्रास हुँदै गइरहेको छ । शक्तिको सम्मान भएन भने अडिदैन, त्यसैले यथोचित सम्मान हुनैपर्छ । सम्भोग शक्तिको अभाव या कमी भएकाको जीवनमा कुनै रमाइलो रहदैन । विवाह हुदैन । भए पनि सन्तान हुदैनन् । पति पत्नी परस्पर प्रसन्न हुँदैनन् । यसको सम्मान गर्न नजान्नेले काम-सुख पाउँदैन या निकै कम पाउँछ । पारिवारिक या सामाजिक व्यवस्था नै उच्छिन्न प्रायः भैदिन्छ । जीवन नरक बन्दछ ।

राजा महाराजाहरुले बिधिपूर्वक यो शक्तिको पूजा गर्छन् । हामीले पनि यो दिनमा रति र कामदेवको नाममा सरस्वती र ब्रह्माजी अथवा शिव र पार्वतीको पूजा गर्नुपर्छ । रति र कामदेवकै चित्र या मूर्तिको पूजा किन नगर्ने त ? भन्ने प्रश्न उठ्न सक्छ । रति र कामदेव भनिने यी देवी देवताको शरीर हुँदैन भन्ने मान्यता छ । यी अनङ्ग हुन् । अङ्ग नहुने देवी देवता भएकाले यिनको फोटो या मूर्ति पनि कहिँ कतै पाईदैन । त्यसैले सरस्वती र ब्रह्माजी अथवा शिव र पार्वतीको पूजा गर भन्ने शास्त्रीय निर्देशानुसार गर्नुपर्ने हुन्छ । केही भारतीय समाजमा पतिले पत्नीको पत्नीले पतिको पूजा गर्ने पनि प्रचलन पाइन्छ । रति र कामदेवको पूजा गर्नाले सम्भोग-शक्ति बढ्ने र काम सुख अर्थात यौन आनन्द प्राप्त हुने त निश्चित छ त्यसका साथै काम-सुख सुदृढ र सु-व्यवस्थित पनि बन्दछ । विवाह नभएकाहरुको विवाह हुन्छ । सन्तान नभएकाहरुको सन्तान हुन्छ । यौन क्रियाबाट पनि अझ विलक्षण आनन्द प्राप्त हुन्छ । जीवनमा अझ उत्साह उमङ्ग बढ्दै जान्छ । स्त्रीप्रति पुरुषहरु र पुरुषप्रति स्त्रीहरुको आकर्षण बढ्छ । यी र यस्तै धेरै फाइदा भएकाले यसप्रकारको शक्ति बढाउन चाहनेले सम्भोग-सुख बढाउन चाहने हरेक भगवानको भक्तले श्रीपञ्चमीको दिनमा रति र कामदेवको पूजा गर्नुपर्छ ।
हरिॐ तत्सत्

Leave a Comment

Your email address will not be published. Required fields are marked *